Saturday, September 28, 2013

ऐतिहासिक पृष्ठभूमि,दोलखा

नेपाल राज्यको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने जनकपुर अञ्चलको एक हिमाली जिल्लाको रुपमा परिचित दोलखाले प्राचीनकालदेखि नै आफ्नो छुट्टै आर्थिक, सामाजिक, धार्मिक र राजनैतिक पहिचान कायम राख्दै आएको पाइन्छ । "दोलखाको इतिहास नलेखिकन नेपालको इतिहास लेखन पुरा हुँदैन" भन्ने इतिहास शिरोमणि स्व. श्री बाबुराम आचार्यको कथन रहेको छ । दोलखालाई पहिला अभयपुरको नामबाट चिनिन्थ्यो ।
दोलखा प्रदेश अन्तर्गत रहेको विगु हुदै कुती, खासा हुदै भोट जाने बाटो, लामाबगर, रचि (लप्चि) भई भोट जाने बाटो मल्लकालको उत्तरार्द्धसम्म पनि कायम भएको हुनाले लिच्छविकालको उत्तरार्द्धमा नै दोलखा भई भोट जाने बाटो खुलेको अनुमान हुन्छ भनी धनबज्र बज्राचार्य र टेक बहादुर श्रेष्ठद्वारा लिखित दोलखाको ऐतिहासिक रुप रेखामा उल्लेख गरेको देखिन्छ । त्यस समयदेखि नै तामाकोशीको किनारै किनार भएर भोटसंग व्यापार मार्ग खुलेकोले व्यापार गर्न आउंदा जाँदा हालको दोलखामा कुनै डर त्रास नभई सुरक्षित स्थान भएकोले नै उक्त स्थानलाई पहिला अभयपुर भनेर चिनिन्थ्यो भन्ने भनाइ रहेको छ भने कसैको भनाइ अनुसार दोलखा राज्यको शासन व्यवस्थामा सात सुरक्षा घेरा भएको कारणले नै दोलखालाई अभयपुर महापतन भनिन्थ्यो भन्ने रहेको छ ।
दोलखाको नामाकरण सम्बन्धमा विभिन्न किम्बदन्तीहरु पाइन्छन् । कुनै समयमा एउटा योगी मुसलमानको आक्रमणबाट भागी गौरीशंकर हिमालको एउटा गुफामा गई तपस्या गर्दा शिवजी प्रसन्न भई बरदान दिएकोले योगी खुसीले गदगद भई अब म एक पटक सवैतिर घुमेर आउछु भनी हिड्दा जति घुमे पनि उही ठाउँमा आइपुग्दो रहेछ । यसरी २ लाख पटक घुम्न निस्कंदा पनि पुन त्यहि स्थानमा आइपुग्दा योगी थकित भएर आफ्नै आश्रममा फर्केछन् । यसरी २ लाखपटक घुम्दा पनि त्यहि स्थानमा आएकोले सो स्थानलाई दो + लाख बाट अपभ्रस हुँदै दोलखा (हिन्दीमा दो भनेको दुई र लख भनेको लाख) नामाकरण भएको भन्ने भनाइ रहेको पाइन्छ ।
त्यस्तै अर्को भनाइ अनुसार तिब्बती भाषामा —दो‘ को अर्थ ढुङ्गा —ल‘ को अर्थ मन्दिर र —खा‘ को अर्थ घर भएकोले दोलखामा प्रसस्त मात्रामा ढुङ्गा माटोबाट बनाइएको मन्दिर र घरहरु रहेको हुनाले यसलाई दोलखा नामाकरण गरिएको हो ।
दोलखाको नामाकरणमा जे जस्ता किम्बदन्ती रहे तापनि यसलाई ज्यादै पुरानो नगरको रुपमा चिन्न सकिन्छ । जब केन्द्रमा किराँतहरुको शासन चल्यो त्यसबेलादेखि नै किराँतहरु दोलखामा उपनिवेश कायम गर्न आई हालको किराँतीछापमा बसेको र पछि १४ औं शताब्दीमा भारतका मुगल सम्राट समसुद्धिनको आक्रमणबाट उक्त बस्ती ध्वस्त भई हालको दोलखा वस्ती बसेको हुन सक्ने अनुमान गरिएको छ ।
यस जिल्लाका आदीवासीहरुमा नागवंशीहरु रहेको अनुमान गरिएको छ । जब नेपाल र भोट वीचको व्यापारको लागि लामाबगर हुँदै तिब्बत जाने व्यापारी मार्ग खुल्यो, त्यसबेलादेखि नै भक्तपुरबाट नेवारहरु दोलखामा आई व्यापार गर्न थालेको अनुमान गर्न सकिन्छ । वि.सं.को १६ औं शताब्दीको उत्तरार्द्धदेखि १७ औं शताब्दीको उत्तरार्द्धसम्म करिव १ शताब्दी जति दोलखा एक स्वतन्त्र राज्यको रुपमा रहेको कुरा इतिहासले प्रष्ट पारेको छ । केन्द्रमा यक्ष मल्लले राज्य गरे तापनि दोलखामा कीर्तिसिंह सामन्ती शासकको रुपमा थिए र उनको मृत्यु पछि उनका १४ वर्षीय छोरा उद्धवदेव दोलखाका राजा भए । त्यस बेला उद्धवदेवले आफ्नो नामको अगाडि "दोलखाधिपति" लेख्ने गरेका थिए । जसबाट पनि दोलखा स्वतन्त्र राज्यको रुपमा स्थापित थियो भन्ने पुष्टि हुन्छ । त्यसै गरी स्वतन्त्र रुपमा रहेको दोलखा राज्यमा उद्धवदेव, नन्ददेव, उजोतदेव, गोबिन्ददेव, इन्द्रसिंहदेव, जयनारायणदेव, जितदेव, रुपनारायणदेव आदिले राज्य गरेका थिए । एक शताब्दीजति स्वतन्त्र राज्यको रुपमा रहको दोलखालाई कान्तिपुरका राजा शिवसिंहले वि.सं. १६५५ मा भिष्मदेवलाई युद्धमा पराष्त गरी ठकुराईमा राज प्रशासन चलाए ।
दोलखा राज्यको मध्यकालीन सीमानामा पूर्वमा दूधकोशी, पश्चिममा दोलालघाट, उत्तरमा तिब्बतको सीमाना र दक्षिणमा तिरहुत राज्यको सीमाना रहेको कुरा इतिहासबाट जान्न सकिन्छ । दोलखाको राज्य व्यवस्था कहिले स्वतन्त्र त कहिले अधिनस्थ भई चलिरहेको थियो । त्यसै समयमा गोरखाका राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरणको अभियान शुरु गरेका थिए । त्यसबाट दोलखा पनि अलग रहन सकेन । पहिला दोलखा भक्तपुरका राजा रणजीत मल्लको रेखदेखमा छोडेको र वि.सं. १८११ मा दोलखाली देशावर प्रधानहरुलाई "नालादुम पूर्व मेरो अम्बल भयो, तिमी प्रजापात्र हौ, मेरो हजुरमा आउ, तिम्रो रक्षा गरुलाँ" भनेर पत्र पठाएपछि दोलखाका देशावर प्रधानहरुले सो कुरा मञ्जुर गरी विना संर्घष दोलखा बृहत नेपालको एक भागको रुपमा रहन गयो ।
आर्थिक रुपमा पनि छुट्टै पहिचान राख्ने दोलखाका राजा इन्द्रसिंहले नै नेपालमा चाँदीका स्वतन्त्र मोहर प्रचलनमा ल्याएका थिए । भन्न त महेन्द्र मल्लले सवै भन्दा पहिला चाँदीका सिक्का प्रचलनमा ल्याएका भन्ने गरिन्छ तर सो भन्दा पहिला नै इन्द्रसिंहले स्वतन्त्र मोहर प्रचलनमा ल्याएको कुरा अभिलेखहरुबाट पुष्टि हुन्छ । महेन्द्र मल्लले वि.सं. १६१७ देखि १६३१ सालको वीचमा आफ्नो सिक्का प्रचलनमा ल्याएको देखिन्छ भने इन्द्र सिंहदेवले वि.सं. १६०५ अगाडि नै सिक्का प्रचलनमा ल्याएको कुरा पुष्टि हुन आउँछ । अझसम्म पनि दोलखामा टक्सार घरको नामले सिक्का काट्ने घर देख्न सकिन्छ । यसरी सिक्का प्रचलनमा ल्याई व्यापार व्यवसायलाई अगाडि बढाइएको र खानीहरु संचालन समेत गरेको देखिन्छ ।
यसरी राजनैतिक, धार्मिक, आर्थिक तथा सामाजिक रुपमा छुट्टै पहिचान भएको दोलखा जिल्ला वर्तमान स्वरुप भने २०१८ सालमा भएको राजनैतिक विभाजनले कायम गरेको हो । त्यस भन्दा पहिले रामेछाप र दोलखाको एउटै प्रशासनिक इकाईबाट समेत काम कार्वाही हुने गरेको थियो ।
 

No comments:

Post a Comment