दोलखा भिमसेन
सदरमुकाम चरिकोटबाट ४ किमी उत्तरपूर्वमा रहेको ऐतिहासिक शहर दोलखामा अवस्थित भीमेश्वर मन्दिर नेपालकै प्रसिद्ध देवस्थल हो । यसको स्थापना किरातकालमा नै भएको अनुमान छ । देशमा संकट आउनुपूर्व भीमेश्वरको मूर्तिमा संकेतको रुपमा पसिना आउने गर्दछ ।पौराणिक कालमा दोलखा शहरमा पाण्डबहरु गुप्तवास बसेको र सो गुप्तावास बस्दाको समयमा प्रयोग गरिएको सांकेतिक भाषा नै हाल दोलखाली नेवारहरुले बोल्ने नेवार भाषा हो भन्ने किम्बदन्ती रहेको छ । सो मन्दिरमा नित्य पूजा बाहेक भिम एकादशी, वालाचर्तुदशी, चैतेदशै, बडादशै इत्यादिमा मेला लाग्ने गर्दछ ।
कालिन्चोक भगवती
सदरमुकाम चरिकोटबाट करिव १५ कि.मी. उत्तरमा पदयात्राको दृष्टिकोणले रमणीय स्थल कालिन्चोक गाविसमा अवस्थित यो मन्दिर ३८४२ मी. को उचाईमा छ । कालिन्चोक भगवती काभ्रेको पलान्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ । कालिन्चोक डांडाबाट मनोरम रोलवालिङ हिम श्रृङ्खला र मनोरम प्राकृतिक दृष्यहरुको अवलोकन गर्न सकिन्छ ।शैलुङ्गेश्वर महादेव
सदरमुकाम चरिकोटबाट करिव २० कि.मी. दक्षिणमा शैलुङ्गेश्वर डांडामा अवस्थित यो स्थान ३५०० मी.को उचाईमा रहेको छ । साना ठूला गरेर १०० वटा थुम्काहरु रहेकोले शैलुङ्ग भनिएको यस स्थानबाट प्राकृतिक दृष्यावलोकन गर्न सकिन्छ ।टसी गुम्बा
जिल्ला सदरमुकाम चरिकोटबाट १३ कोष उत्तरमा रहेको विगु गाविस वडा नं. ८ मा अवस्थित विगु गुम्बा वास्तवमा दोलखा जिल्लाकै एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल मान्न सकिन्छ । विगु गुम्बाको स्थापना विक्रम संम्बत १९९० तिर डुम्पा रिम्पोछे (स्योराव दोर्जे) ले गर्नु भएको विश्वास गरिन्छ । समथर स्थानमा रहेको उक्त गुम्बामा हाल करिव ६० जना आनी (महिला भिक्षुणी) हरु रहेका छन् । जसले गुम्बामा नियमित रुपमा पाठपुजा गर्ने, पढ्ने र नयाँ भिक्षुहरुलाई पढाउने कार्य गर्दछन् । गुम्बामा कहिल्यै ननिभ्ने एक निमबत्ती नियमित रुपमा बल्दछ । उक्त गुम्बामा दशैको सप्तमीदेखि एकादशीसम्म बत्ती बाल्ने परम्परा छ । हिन्दु धर्मावलम्बीहरुले दशै काटमार गरी बली चढाउने परम्परा भएको र सो परम्पराबाट काट मारमा परी मर्ने हाँस, कुखुरा, बोका, राँगा आदिको नाममा बत्ती बालिएको हो भन्ने किम्बदन्ती छ ।देउलाङ्गेश्वर महादेव
ओराङ र लामावगर गाविसको सीमानामा रहेको देउलाङ्गेश्वर महादेवको मन्दिर उत्तरी क्षेत्रको प्रसिद्ध तिर्थ स्थल हो । स्वस्थानी पूर्णिमाको दिन ठूलो मेला लाग्ने यस मन्दिरमा सत्य यूगमा महादेवले सत्यदेवीलाई जोगीको भेषमा विवाह गरी ल्याउँदा यहि मन्दिरसंगै रहेको कुटीमा राखेको र सत्यदेवीले विलौना गर्दा खरले छापेको सो कुटीको भित्तो च्याती हिमालय पर्वतको दर्शन गराएको किम्बदन्ती रहेको छ । उक्त कुटी मन्दिरसंगै अझै पिन देख्न सकिन्छ ।रोलवालिङ्ग उपत्यका
पदयात्राका लागि अति नै रमणीय एवं रोमाञ्चकारी स्थलको रुपमा रहेको यस उपत्यकामा साहसिक पैदल यात्राका लागि विदेशी पर्यटकहरु आकर्षित हुने गर्दछन् ।च्छोरोल्पा हिमताल
गौरीशंकर गाविस वडा नं. १ रोलवालिङ्ग उपत्यकामा रहेको च्छोरोल्पा हिमताल नेपालकै सवभन्दा ठूलो हिमताल हो । समुद्र सतहबाट ४५८० मीटरको उचाईमा रहेको यस तालको उत्पति ५० वर्षअघि मात्र भएको अनुमान गरिएको छ । सन् १९६३ मा यो हिमताल ०.२३ वर्ग कि.मी. क्षेत्रफलमा रहेकोमा सन् १९९७ मा लिएको भू-उपग्रहीय नक्सा अनुसार १.६५ वर्ग कि.मी. सम्म फैलिएको छ । १३५ मी. गहिरो उक्त हिमतालमा १० करोड घ.मी. पानी रहेको अनुमान छ ।गौरीशंकर हिमाल
७१३४ कि.मी अग्लो यो हिमालबाट नेपालको प्रामाणिक समय निर्धारण गरिएको छ । हिन्दु धर्मावलम्बीहरुको अराध्यादेव शिव र पार्वतीको प्रतिक मानिने गौरीशंकर हिमाल धार्मिक आस्थाका कारणले आरोहण गर्न प्रतिवन्ध छ ।वेदिङ्ग गाउँ
गौरीशंकर गाविसको वडा नं. १ मा पर्ने वेदिङ्ग गाउँलाई हिम मजदुरको गाउँ भन्ने गरिन्छ । यस गाउँका २९ जना भन्दा बढी व्यक्तिले सगरमाथाको आरोहण गरी सकेका छन । हालसम्म १८० सगरमाथा आरोहण गर्ने सफल नेपाली मध्ये वेदिङ्ग वासीले मात्र ७० पटक भन्दा बढी सगरमाथा आरोहण गरी सकेका छन् ।वि.सं. २०४२ साल वैशाख २४ गते गौरीशंकर गाविसको टसीनामामा जम्मिएका तेम्बाछिरी शेर्पा सवैभन्दा कम उमेरमा सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो व्यक्ति हुन । उनले गत २०५८ जेष्ठ ११ गते उक्त विश्व किर्तिमान कायम गरेका हुन् ।
No comments:
Post a Comment